विश्व कुष्टरोग दिवस औषधि पुग्यो, स्वीकार्यता अझै टाढा

साझेदारी दैनिक
245 पाठक संख्या

पचरौता : विश्व कुष्टरोग दिवसका अवसरमा आइतबार पचरौतामा आयोजित कार्यक्रमले कुष्टरोगभन्दा गहिरो समस्या समाजको सोच रहेको सन्देश दिएको छ। औषधि सहज रूपमा उपलब्ध भए पनि सामाजिक लाञ्छना र विभेद अझै ठूलो चुनौती बनेको सहभागीहरूले बताएका छन्।

“कुष्टरोगको छ औषधि, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने नारासहित लेप्रोसी मिसन नेपालको आयोजनामा तथा पचरौता नगरपालिका जनस्वास्थ्य कार्यालय, बाराको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम औपचारिक दिवस मनाउने सीमामा सीमित नरही कुष्टरोगबारे विद्यमान गलत बुझाइ र सामाजिक उपेक्षामाथि केन्द्रित रह्यो।

स्वयं सहायता समूहका सदस्यहरूले औषधि सेवनपछि रोग निको भए पनि समाजको व्यवहारले पीडा कायम रहने अनुभव सुनाए। उनीहरूले कुष्टरोगलाई रोगभन्दा पनि सामाजिक बहिष्कारको विषयका रूपमा हेरिने प्रवृत्ति अझै नहटेमा पीडितको जीवन सहज नहुने धारणा राखे।

लेप्रोसी मिसन नेपालका जिल्ला को–अर्डिनेटर रामहरि रेग्मीका अनुसार बारा जिल्लामा हालसम्म ९३ जनाले १२ महिने औषधि सेवन पूरा गरेका छन् भने १९ जना ६ महिने औषधि सेवन गरिरहेका छन्। औषधि पहुँचमा सुधार आए पनि सामाजिक स्वीकार्यता अझै चुनौतीपूर्ण रहेको उनले बताए।

जनस्वास्थ्य कार्यालयका अनुसार बारा जिल्ला कुष्टरोगको हटस्पोट–१ क्षेत्रमा पर्दछ भने जीतपुरसिमरा उपमहानगरपालिका हटस्पोट–२ क्षेत्रका रूपमा चिनिएको छ। यसले तराई क्षेत्रमा कुष्टरोगको जोखिम अझै कायम रहेको संकेत गर्छ। यही अवसरमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा पनि विश्व कुष्टरोग दिवस मनाइएको छ। त्यहाँ स्वयं सहायता समूहले लेप्रोसी भवन निर्माणका लागि ७ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेपछि कार्यक्रममा उत्साह थपिएको थियो।

स्वास्थ्य कार्यालय, पर्साका अनुसार हाल जिल्लामा २४ जना कुष्टरोगी नियमित औषधि सेवन गरिरहेका छन्। कार्यक्रममा औषधि नियमित सेवन, रोग लुकाउनु नपर्ने र विभेदविरुद्ध समुदाय एकजुट हुनुपर्ने विषयमा जोड दिइयो। कुष्टरोग अब केवल स्वास्थ्य समस्या होइन, सामाजिक चेतनाको विषय हो। औषधिले रोग निको पार्न सक्छ, तर समाजको दृष्टिकोण नबदलिएसम्म पीडितको जीवन पूर्ण रूपमा सहज हुन सक्दैन। कार्यक्रमको निष्कर्ष स्पष्ट थियो

Leave a review