कलैया । ग्रामीण बस्तीलाई बजार र मुख्य सडकसँग जोड्दै सार्वजनिक यातायात सहज बनाउने उद्देश्यले बारा र पर्साका चार स्थानीय तहले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने तयारी गरेका छन् । योजनाअनुसार बाराका जीतपुरसिमरा र कलैया उपमहानगरपालिकासहित वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिका साझा यातायात सेवामा जोडिने भएका छन् ।
अन्तरपालिका सहकार्यमा सञ्चालन हुने उक्त सेवाका लागि चारवटै स्थानीय तहले एक करोड रुपैयाँको साझा कोष बनाउने निर्णय गरेका छन् । कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गर्नेछन् ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको हो । बैठकले यसअघि गठित कार्यदलको प्रतिवेदन संशोधनसहित पारित गर्दै सञ्चालन कार्यविधि तयार पार्ने जिम्मेवारी पनि दिएको छ । कार्यदललाई मंसिर ७ गतेभित्र कार्यविधि पेस गर्न समयसीमा तोकिएको छ ।
वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमराका हरिशंकर प्रसाद कुर्मी, कलैयाका अजय उप्रेती र परवानीपुरका कृष्णकुमार यादव सदस्य छन् । गत कात्तिक १२ गते सेवा सञ्चालनको सम्भाव्यता र तयारी अध्ययन गर्न कार्यदल गठन गरिएको थियो ।
नगर बस सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका बस्तीका बासिन्दालाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । निजी सवारीमा निर्भर रहनुपर्ने र गन्तव्यसम्म पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने समस्या घट्ने विश्वास गरिएको छ ।
बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेतीलगायत सहभागी थिए ।



