कलैया : बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार फरमुल्लाह मन्सुरले आफू पदको लोभमा नभई अन्तिम पटक क्षेत्रको विकास र जनताको सेवाका लागि उम्मेदवारी दिएको बताएका छन्।
शनिबार जीतपुरसिमरा उपमहानगरपालिका–१८ वडहर्वामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बारा–३ को मुहार फेर्ने उद्देश्य सहित चुनावी मैदानमा उत्रिएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत रहेका मन्सुरले आफू सधैं क्षेत्रका नागरिकको दुःख–सुखमा साथ दिँदै आएको र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गरे।
उनले ‘नयाँ’ भन्ने नाममा भ्रममा नपर्न आग्रह गर्दै रुपान्तरित भएर आएको नेपाली कांग्रेस नै आजको वास्तविक नयाँ पार्टी भएको दाबी गरे। अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र त्यसको नेतृत्व गगनकुमार थापाले गर्ने उनको भनाइ छ।
देशका हरेक समस्या र चुनौतीको सामना गर्दै आएको नेपाली कांग्रेसले नै देशलाई निकास र विकास दिन सक्ने मन्सुरले बताए। लोकतन्त्र कोमामा पुगेको अवस्थामा कांग्रेसले नेतृत्व लिएर देश बनाउने भन्दै फागुन २१ गते हुने निर्वाचनमा रुख छापमा मतदान गर्न उनले आग्रह गरे। राणा शासनको अन्त्यदेखि २०७२ सालमा संविधान जारी गर्नेसम्मको ऐतिहासिक नेतृत्व कांग्रेसकै भएकाले देशलाई सबल बनाउन कांग्रेस अपरिहार्य रहेको उनको जोड थियो।
कांग्रेस वडा सभापति कृष्ण वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य लालबाबु सिंह, मधु शाही ठकुरी, वडा अध्यक्ष चतुरबाबु बाग्ले, केन्द्रीय सदस्य रामानन्द यादव, क्षेत्रीय सभापति श्रीराम चौधरी, महिला नेत्री नयनकला खड्कालगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव राजेश भण्डारीले गरेका थिए।


