कोल्हवी : बाराको कोल्हवीस्थित तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना भएको १८ वर्ष पूरा भएको अवसर पारेर सहकारीले शुक्रबार कोल्हवीमा विस्तारित मञ्च तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन कोल्हवी नगरपालिकाका शिक्षा शाखा प्रमुख मिश्रीलाल साहले दीप प्रज्वलन गरी गर्नुभयो। कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, सञ्चालक समिति, उपसमिति, सेवा केन्द्र उपसमिति तथा अन्य सदस्यहरू गरी एक सय ५० भन्दा बढीको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष पदमजंग प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षा शाखा प्रमुख साहसहित तामागढी ग्रुपका अध्यक्ष युवराज क्षेत्री, लेखा सुपरिवेक्षण समितिका संयोजक पृथ्वीराज सिवाकोटी, सल्लाहकार गोविन्द पौडेल, पूर्वअध्यक्ष श्यामप्रसाद खनाल, सञ्चालक सदस्य सन्तोष पाण्डे, नन्दलाल चौधरी, राकेश साह, लेखा समिति सदस्य राधा नेपाल, सेवा केन्द्र सदस्य सन्तोष चौधरी तथा महिला समिति संयोजक चन्द्रावतीदेवी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष कालिका दवाडी भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन मुख्य प्रबन्धक बासुदेव रिमाले गर्नुभएको थियो। यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो। प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः नगद रु पाँच हजार, तीन हजार र दुई हजारसहित सम्मान गरिएको सहकारीले जनाएको छ।

