बारा । पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत डाबर नेपाल अगाडि आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने उनकी पत्नी गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् ।
वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा चालक राम चमार र मोटरसाइकलको पछाडि सवार उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए ।
दुर्घटना लगत्तै उद्धार गरी दुवैलाई उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो । उपचारकै क्रममा राम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते जानकी देवीको सोही अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

