कलैया : बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा रहेको घण्टाघरको चार वटै घडी दुई साता देखि बन्द भएको छ।
घडी तथा घण्टी मरम्मत भएको दुई बर्ष नबित्दै बन्द भएको हो। घडी र घण्टी बन्द भएपछि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको कलैयाका किराना ब्यापारी श्याम साहले बताएका छन।
दुई वर्ष पहिले घण्टाघरको सरसफाई तथा रंगरोगन गरी एक दशक देखि बन्द रहेको घडी र घण्टी मरम्मत सम्भार गरी सञ्चालनमा ल्याईएको थियो। २०७९ सालको स्थानीय तहको निर्वाचन हुनु भन्दा केही दिन अगाडी देखि घण्टाघरको रंगरोगन मर्मत सम्भार शुरु गरिएको लक्ष्मी स्विटसका सञ्चालक सुरेश साहले बताए।
जिल्लाको पहिचान झल्काउने यो घण्टाघरको घडी निर्माण भएको केही दिन सम्म चलेको थियो। बन्द भएको दुई हप्ता बित्न लाग्दा समेत यस्को मरम्मत संभार हुन सकेको छैन उनले भने।
यता कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले घण्टाघरको घडी बन्द रहेको बारेमा आफूलाई कुनै जानकारी नभएको जनाएका छन्। बन्द रहेका घडीहरु यथाशिघ्र मर्मत सम्भार गरी संचालनमा ल्याउने उनले बताए।

