रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय

रासस
74 पाठक संख्या

सिरहा । यहाँको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ ।

मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले जानकारी दिनुभयो । अदालतले बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई फरक–फरक सजाय तोकेको छ ।

घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र रु सात हजारका दरले जरिवानाको फैसला सुनाएको छ । जनप्रतिनिधिको ओहदामा रहेर पनि अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पु¥याएको ठहर गर्दै वडा सदस्य साहलाई भने थप छ महिना कैद सजाय तोकिएको छ ।

त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ ।

२०८१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन जना युवकले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए । पीडा र चोटका साथ भोलिपल्ट बिहान ३ः०० बजे घर आइपुगेकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । तर, यो जघन्य अपराधलाई प्रहरीसम्म पुग्न नदिई गाउँमै गुपचुप राख्ने प्रयास गरिएको थियो ।

घटनाको भोलि र पर्सिपल्टअर्थात् माघ २९ र ३० गते स्थानीय वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्यो । पञ्चायतीले दोषीहरूलाई रु एक लाख ५१ हजार जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरेको थियो । तर, जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा मिलेन । सोही दिन (माघ ३० गते) रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई सुरुदेखि नै शङ्कास्पद मानिएको थियो ।

Leave a review

This will close in 0 seconds