जीतपुर । मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाराको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मेसजाली निर्माण कार्यको शिलान्यास गरिएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ को १० लाख रुपैयाँ बजेट सहयोगमा करिब ३५० मिटर लम्बाइको मेसजाली निर्माण हुन लागेको हो। वन आसपासका बस्तीमा जंगली जनावरको प्रवेश नियन्त्रण गरी स्थानीयवासीको जिउधन र खेतीबालीको सुरक्षा गर्ने लक्ष्यसहित योजना अघि बढाइएको समूहले जनाएको छ।
समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठका अनुसार पछिल्लो समय हात्ती, बँदेल, हरिणलगायत वन्यजन्तुको बस्ती प्रवेश बढ्दै जाँदा खेतीबालीमा क्षति पुग्नुका साथै स्थानीयवासी त्रसित बन्ने अवस्था सिर्जना भएको छ। यही समस्यालाई मध्यनजर गर्दै मेसजाली निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
निर्माण सम्पन्न भएपछि वन्यजन्तुको अनियन्त्रित आवतजावत कम हुने, किसानको खेतीबाली जोगिन सहयोग पुग्ने तथा मानव–वन्यजन्तु द्वन्द्व घट्ने अपेक्षा गरिएको छ। निर्माण कार्य उपभोक्ता समितिको निगरानीमा स्थानीयवासीको सहभागितासहित सञ्चालन गरिने जानकारी दिइएको छ।
स्थानीयवासीहरूले यस योजनालाई मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने सकारात्मक प्रयासको रूपमा लिएका छन्। उनीहरूले जोखिम बढी रहेका अन्य क्षेत्रहरूमा समेत यस्ता संरचना विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। समुदायिक वन समूहले आगामी दिनमा वन संरक्षण, जनचेतना अभिवृद्धि, वन्यजन्तु नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा थप सुरक्षा पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखिने जनाएको छ।


