करैयामाई । बाराको करैयामाई गाउँपालिका–१ मधुवनस्थित श्री जन सामुदायिक माध्यमिक विद्यालय शुक्रबार प्रविधिमय बनेको छ । विद्यालयमा आयोजित दोस्रो प्रविधि प्रदर्शनीमा विद्यार्थीहरूले ड्रोनदेखि रोबोटसम्मका नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गर्दै आफ्नो सिर्जनशील क्षमता प्रदर्शन गरेका हुन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा सञ्चालित ‘इन्स्पायर परियोजना’ अन्तर्गत सेभ द चिल्ड्रेनले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूले रोबोटिक्स, डिजिटल डिजाइन, सर्किट मोडेल, होलोग्राम कला तथा ड्रोन प्रविधिसम्बन्धी विभिन्न प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले पुस्तकमा सीमित विज्ञान तथा प्रविधिलाई व्यवहारमा प्रयोग गरेर सिक्न पाउँदा उत्साह थपिएको बताएका छन् । उनीहरूले प्रविधिसँग प्रत्यक्ष काम गर्दा भविष्यमा वैज्ञानिक, इन्जिनियर तथा प्राविधिक क्षेत्रमा अघि बढ्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा बारा जिल्लाका सात विद्यालयका सयौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रदर्शनीस्थलमा रोबोटिक्स एसोसिएसन अफ नेपाल, कारखाना समूह तथा स्मार्ट चेलीका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष अन्तरक्रिया गर्दै नयाँ प्रविधिबारे जानकारी लिएका थिए । साथै विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित सम्बन्धी विभिन्न शैक्षिक सामग्री पनि प्रदर्शन गरिएको थियो ।
महागढीमाई नगरपालिका स्थित श्री भोला माध्यमिक विद्यालयका एक विद्यार्थीले ‘मेकर स्पेस’ मार्फत सिकाइ अझ व्यवहारिक र रमाइलो बनेको बताए । उनका अनुसार विज्ञान र गणित अब केवल किताबमा सीमित नभई प्रयोगशालामै बुझ्न सकिने विषय बनेका छन् । अर्का विद्यार्थीले रोबोट र डिजिटल डिजाइन प्रत्यक्ष हेर्ने अवसरले प्रविधिप्रति रुचि झनै बढाएको बताए ।
आयोजकका अनुसार पाँच वर्षे ‘इन्स्पायर परियोजना’ को उद्देश्य मधेश प्रदेशमा आधारभूत शिक्षाको गुणस्तर सुधार गर्नु, डिजिटल साक्षरता विस्तार गर्नु तथा किशोरकिशोरीलाई आधुनिक सीपमार्फत भविष्यका अवसरका लागि तयार बनाउनु हो ।
सन् २०२५ देखि सञ्चालनमा आएको परियोजना हाल बारा जिल्लाको महागढीमाई नगरपालिका, करैयामाई र देवताल गाउँपालिकामा कार्यान्वयन भइरहेको छ । जनजागरण युवा क्लब, बारासँगको साझेदारीमा सञ्चालन भइरहेको परियोजनाले पहिलो वर्षमै ४५ वटा कक्षाकोठा निर्माण तथा मर्मत, १६ वटा खानेपानी तथा सरसफाइ संरचना निर्माण, १८८ शिक्षकलाई समावेशी शिक्षासम्बन्धी तालिम, करिब १२ हजार बालबालिकालाई अतिरिक्त सिकाइ सहयोग, १०२ किशोरकिशोरीलाई व्यावसायिक तालिम तथा ७ वटा टेक ल्याब र मेकर स्पेस स्थापना गरिसकेको जनाएको छ ।
करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोइकाका प्रोग्राम म्यानेजर डङ्गग्यु किम प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सोनालाल साह, जनजागरण युवा क्लबका कार्यवाहक अध्यक्ष राजदेव साह, प्रोग्राम डेभलपमेन्ट, क्वालिटी एण्ड इन्फ्लुएन्सका डाइरेक्टर आयुष जोशी लगायत शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


