सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ को मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका सात वटा सटर अन्ततः खाली भएका छन्। लामो समयदेखि विभिन्न व्यवसाय सञ्चालन हुँदै आएका ती सटर शुक्रबार व्यवसायीहरूले आफैं हटाएका हुन्।
नगरपालिकाको पटक–पटकको सूचना र अदालतको पछिल्लो निर्णयपछि सटर खाली गर्ने प्रक्रिया अघि बढेको हो। मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने सडकको उत्तर भाग तथा रामजानकी मन्दिर आसपास रहेका सटरहरूमा मेडिकल, रेडिमेड र सैलुन व्यवसाय सञ्चालन हुँदै आएको थियो।
उपमहानगरपालिकाले बैशाख १६ गते तीन दिनभित्र सटर खाली गर्न अन्तिम सूचना जारी गरेको थियो। तोकिएको समयसीमा सकिँदासमेत अटेरी भए सामान जफत गरिने चेतावनी दिएपछि व्यवसायीहरू स्वयं सटर खाली गर्न तयार भएका हुन्।
सटर खाली गराउने क्रममा प्रशासकीय अधिकृत रमेश सुवेदीको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। व्यवसायीहरूले आफैं सामान हटाउन थालेपछि सुरक्षाकर्मीले आवश्यक सहजीकरण गरेका थिए।
यसअघि चैत २६ गते पनि सटर खाली गर्न सूचना जारी गरिएको थियो। तर एक व्यवसायीले उच्च अदालत वीरगञ्जमा रिट दायर गरेपछि प्रक्रिया केही समय रोकिएको थियो। प्रारम्भिक अन्तरिम आदेशपछि रोकिएको काम पछि अदालतले आदेश खारेज गरेसँगै पुनः अघि बढाइएको हो। अदालतले अब यो विषयमा थप सुनुवाइका लागि जेठ ४ गतेको मिति तोकेको छ।

