मानव–वन्यजन्तु सहअस्तित्वका लागि सिमरामा अभिमुखीकरण

रञ्जन यादव
93 पाठक संख्या

जीतपुर । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ।

डिभिजन वन कार्यालय बाराको आयोजना तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको सहयोगमा आयोजित कार्यक्रममा वन संरक्षण, वन्यजन्तु व्यवस्थापन र कानुनी प्रावधानबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउत, संजय चौधरी, बादल तथा रेञ्जर निरज पोखरेलले सहजीकरण गर्दै वन्यजन्तु संरक्षण, वन अपराध नियन्त्रण र मानव–वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्न अपनाउनुपर्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रम संयोजक वन अधिकृत वर्षा लामाका अनुसार अभिमुखीकरणमा वन तथा वन्यजन्तुसम्बन्धी ऐन–कानुन, अपराधमा हुने दण्ड–सजाय, वन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया, वन संरक्षणका उपाय तथा सामुदायिक र साझेदारी वनको महत्वबारे जानकारी गराइएको थियो।

प्रशिक्षकहरूले वन्यजन्तुको अवैध सिकार, तस्करी र वन विनाशका गतिविधिले जैविक विविधतामा गम्भीर असर पार्ने भएकाले यस्ता अपराध रोक्न स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको औंल्याए। वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्न सके मानव–वन्यजन्तु द्वन्द्व स्वतः घट्दै जाने धारणा पनि व्यक्त गरिएको थियो।

अभिमुखीकरणमा सहभागीहरूले बाघ, चितुवा, हात्ती, बाँदरलगायत वन्यजन्तुसँग बढ्दो द्वन्द्वका विषयमा जिज्ञासा राखेका थिए। त्यस क्रममा वन्यजन्तु देखिएमा अपनाउनुपर्ने सावधानी, सूचना सम्प्रेषणको प्रक्रिया र सम्बन्धित निकायसँगको समन्वयबारे जानकारी दिइएको थियो।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन सुरक्षाकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षण सबैको साझा दायित्व भएको निष्कर्ष निकालिएको थियो। वक्ताहरूले जनचेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन र समुदायमा आधारित संरक्षण कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

Leave a review

This will close in 0 seconds