सिमरामा ईपीएस कोरिया सम्बन्धी अन्तरक्रिया,ईपीएस प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन माग

रञ्जन यादव
290 पाठक संख्या

सिमरा । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले बाराको सिमरामा ईपीएस प्रक्रिया, दक्षिण कोरियामा रोजगारीका अवसर तथा नेपाली श्रमिकले भोग्ने चुनौतीबारे बुधवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, रोजगार संयोजक, कोरिया फर्किएका श्रमिक, कोरिया जान इच्छुक युवा, भाषा प्रशिक्षण केन्द्रका सञ्चालक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कोरिया जाने सम्पूर्ण प्रक्रिया, भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेपछि पनि रोजगारका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था, कोरियामा रहँदा सामना गर्नुपर्ने चुनौती तथा समाधानका उपायबारे जिज्ञासा राखेका थिए। सहभागीका प्रश्नको जवाफ ईपीएस कोरिया शाखाका निर्देशक अनुप ढकाल र सूचना अधिकारी राजकिशोर साहले दिएका थिए।

अन्तरक्रियामा कोरियाबाट फर्किएकी गीता शर्माले विदेश जानुअघि सीपमूलक तयारीलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले कोरियामा आर्जित ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन्।

त्यस्तै, दक्षिण कोरियाबाट फर्किएका टिकाजंग थापाले कोरियालाई नेपाली श्रमिकका लागि सुरक्षित र व्यवस्थित गन्तव्यको रूपमा चित्रण गर्दै विदेशमा हासिल गरेको सीप र अनुभवअनुसार नेपालमा रोजगारी तथा उद्यमका अवसर सीमित रहेको बताए।

कोरियन भाषा प्रशिक्षक प्रेम पाण्डेले भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवालाई रोजगारका लागि कोरिया पठाउने प्रक्रिया अपेक्षाकृत ढिलो रहेको गुनासो गर्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारीले सुरक्षित वैदेशिक रोजगारीबारे सही सूचना प्रवाह गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए। सहभागीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सीपमा आधारित बनाउन सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालाबीच थप समन्वय आवश्यक रहेको निष्कर्ष निकाले ।

Leave a review

This will close in 0 seconds