सिमरा । विश्व कोरा डे–२०२६ को अवसरमा बाराको जीतपुरसिमरा क्षेत्रमा शुक्रबार आयोजित ‘सिमरा कोरा–२०२६’ मा हजारौँ साइकलयात्री सहभागी भएका छन्। धार्मिक आस्था, सांस्कृतिक सम्पदा, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीलाई एउटै अभियानमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले साइकलमार्फत सिमरा आसपासका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको परिक्रमा गरेका हुन्।
‘साइकल, संस्कृति र सम्पदाको संगम’ भन्ने मूल नारासहित सञ्चालन भएको यात्राको शुभारम्भ जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले रिबन काटेर गरेका थिए। त्यसपछि विभिन्न उमेर समूहका साइकलप्रेमी, युवायुवती, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरू निर्धारित मार्ग हुँदै सामूहिक साइकल यात्रामा सहभागी बने।
यात्राका क्रममा सहभागीहरूले स्थानीय धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै वातावरणमैत्री यातायातको प्रयोगलाई जीवनशैलीको हिस्सा बनाउनुपर्ने सन्देश दिएका थिए। मोटर सवारीको बढ्दो प्रयोगबाट सिर्जित प्रदूषण न्यूनीकरण गर्न साइकल संस्कृतिलाई विस्तार गर्नु आवश्यक रहेको उनीहरूको धारणा थियो।
आयोजकका अनुसार ‘कोरा’ केवल साइकल यात्रा मात्र नभई सम्पदा, प्रकृति र समुदायलाई जोड्ने अभियान हो। यस्ता गतिविधिले स्थानीय पर्यटन प्रवद्र्धन, सांस्कृतिक पहिचानको संरक्षण तथा ऐतिहासिक स्थलको प्रचार–प्रसारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
विश्वभर एकै दिन मनाइने ‘विश्व कोरा डे’ अन्तर्गत सिमरामा आयोजित कार्यक्रमले स्थानीय स्तरमा उल्लेखनीय उत्साह सिर्जना गरेको आयोजकको भनाइ छ। सहभागीहरूको बाक्लो उपस्थितिले वातावरण संरक्षण, स्वास्थ्य प्रवद्र्धन र दिगो यातायातप्रतिको जनचासो बढ्दै गएको संकेत दिएको आयोजकले जनाएको छ।
यसैक्रममा बाराको निजगढमा पनि ‘निजगढ कोरा–२०८३’ आयोजना गरी साइकल संस्कृतिको विस्तार, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड दिइएको छ। निजगढ राइडर्स क्लबको आयोजनामा सम्पन्न साइकल यात्रा निजगढ नगरपालिका कार्यालय परिसरबाट सुरु भई विभिन्न मार्ग हुँदै वडा नं. १३ स्थित शक्तेश्वर मन्दिर र शक्तिखोलामा पुगेर समापन भएको थियो।
आयोजकका अनुसार कार्यक्रममा निजगढसहित सिमरा, चन्द्रपुर र हेटौंडाबाट आएका करिब १५० जना साइकल राइडर सहभागी भएका थिए। निर्धारित मार्गअनुसार राइडरहरूले निजगढ नगरपालिकाका १३ वटै वडाको अवलोकन गर्दै स्थानीय प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनाबारे जानकारी लिएका थिए।
आयोजकले यस्ता कार्यक्रमले साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा स्थापित गर्न, स्थानीय पर्यटन प्रवद्र्धन गर्न तथा समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


