वित्तीय कार्यसम्पादनमा डिभिजन वन कार्यालय बारा प्रदेशकै उत्कृष्ट

रञ्जन यादव
41 पाठक संख्या

जीतपुर । डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ को वित्तीय कार्यसम्पादनमा मधेश प्रदेशकै उत्कृष्ट कार्यालय बन्न सफल भएको छ।

वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजित वार्षिक प्रगति समीक्षा गोष्ठीमा सार्वजनिक गरिएको मूल्याङ्कनअनुसार कार्यालयले ८५.१५ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै उल्लेखनीय उपलब्धि हात पारेको हो।

समीक्षा प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारको समग्र वित्तीय प्रगति ५४ प्रतिशत र वन तथा वातावरण मन्त्रालयको औसत वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ।

यस्तो अवस्थामा डिभिजन वन कार्यालय बाराले मन्त्रालयअन्तर्गत रहेका १५ खर्च केन्द्रमध्ये दोस्रो उच्च वित्तीय प्रगति हासिल गरेको छ भने प्रदेशभर सञ्चालित आठवटा डिभिजन वन कार्यालयमध्ये पहिलो स्थान ओगट्न सफल भएको हो।

कार्यालयले बजेट कार्यान्वयन, विकास कार्यक्रमको प्रभावकारी सञ्चालन, वित्तीय अनुशासन तथा योजनाको समयमै सम्पन्नतामा देखाएको सक्रियताका कारण यो सफलता हासिल भएको मन्त्रालयले जनाएको छ। यस उपलब्धिलाई वन क्षेत्रको सुशासन, पारदर्शिता र प्रभावकारी बजेट व्यवस्थापनको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा लाई वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशका मन्त्री शंकर प्रसाद चौधरी ले सम्मानपत्र प्रदान गरेका छन्।

सम्मान समारोहमा मन्त्रालयका उच्च अधिकारीहरूले कार्यालयको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि यही स्तरको प्रतिबद्धता कायम राख्न आग्रह गरेका थिए।

सम्मान प्राप्तिपछि डिभिजन वन कार्यालय बाराले आफ्नो सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण वन कर्मचारी, प्राविधिक जनशक्ति, साझेदार संस्था तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ।

कार्यालयले आगामी दिनमा वन संरक्षण, जैविक विविधताको प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम तथा विकास निर्माणसँग सम्बन्धित योजनाहरूलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Leave a review

This will close in 0 seconds