वीरगञ्ज । अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्साको वीरगञ्ज महानगरपालिकाले दुई दिन विद्यालयको पठनपाठन बिहानको समयमा सञ्चालन गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले बुधबार सूचना जारी गर्दै २०८३ साल साउन २८ र २९ गते महानगरपालिका क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य रूपमा बिहानको सत्र सञ्चालन गर्न निर्देशन दिएको हो।
महानगरपालिकाको निर्देशनअनुसार उक्त दुई दिन विद्यालयहरूमा बिहान ६ बजेदेखि ९ः३० बजेसम्म कक्षा सञ्चालन गर्नुपर्नेछ।
अचानक अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यालयको समय परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ।


