स्वर्गीय किशोरकुमार श्रेष्ठको परिवारलाई तामागढी सहकारीद्वारा राहत तथा बिमा रकम हस्तान्तरण

साझेदारी डेलि
34 पाठक संख्या

सिमरा । तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सिमरा सेवा केन्द्रअन्तर्गतका शेयर सदस्य स्वर्गीय किशोरकुमार श्रेष्ठको परिवारलाई राहत तथा ऋण बिमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ।

सहकारीले सदस्यको निधनपछि परिवारलाई संस्थागत सहयोग गर्ने उद्देश्यले विभिन्न कोष तथा ऋण बिमा योजनाअन्तर्गतको रकम हस्तान्तरण गरेको हो।

रकम हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाकी सिमरा सेवा केन्द्र सदस्य विनिता भट्टराईले सदस्य सहानुभूति कोषअन्तर्गत रु. १० हजार, संस्थाका सञ्चालक समिति सदस्य एवं सिमरा सेवा केन्द्रका संयोजक सन्तोष पाण्डेले सदस्य राहत कोषअन्तर्गत रु. ५० हजार तथा जीतपुरसिमरा उपमहानगरपालिका–१ का वडा सदस्य अमन लामाले ऋण बिमा दाबीबापत रु. २ लाख ८६ हजार ५३२ बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो।

यसरी स्वर्गीय श्रेष्ठको परिवारलाई कुल रु. ३ लाख ४६ हजार ५३२ बराबरको राहत तथा बिमा रकम उपलब्ध गराइएको छ।

सो अवसरमा संस्थाको सिमरा सेवा केन्द्र सेवा समितिका सदस्य कृष्ण थापा, शाखा प्रमुख कुमार सानु चौधरी, शाखा ऋण विभाग प्रमुख दिनेश घिमिरे लगायतको सहभागिता रहेको थियो।

उक्त रकम स्वर्गीय श्रेष्ठकी धर्मपत्नी कमला कुमारी श्रेष्ठलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। सहकारीले आफ्ना सदस्य तथा सदस्यका परिवारलाई अप्ठ्यारो परिस्थितिमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

Leave a review