वर्षौँको बसोबासपछि भूमिहीन परिवारको हातमा लालपुर्जा पुग्ने बाटो खुल्यो

रञ्जन यादव
40 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ का भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाको कानुनी स्वामित्व दिलाउने प्रक्रिया निर्णायक चरणमा पुगेको छ। वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाण नहुँदा समस्यामा रहेका परिवारको लालपुर्जा तयार पार्ने प्रक्रियाका लागि आवश्यक फाइल सम्बन्धित कार्यालयमा पठाइएको छ।

वडाध्यक्ष चतुरबाबु वाग्लेको नेतृत्वमा उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख सुदन चौधरी र राजस्व शाखा प्रमुख राम शर्मा पौडेलसहितको टोलीले मंगलबार नापी तथा मालपोत कार्यालय कलैयाका प्रमुख सुबोध यादवलाई आवश्यक कागजातसहितको फाइल बुझाएको हो।

लामो समयदेखि एउटै स्थानमा बसोबास गर्दै आए पनि जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजात नहुँदा स्थानीय परिवारले बैंकिङ कारोबार, घर निर्माण तथा जग्गासम्बन्धी अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका थिए। पुर्खौंदेखि बसोबास गर्दै आएको जमिन आफ्नो नाममा कायम हुन नसक्दा उनीहरू स्थायी स्वामित्वको पर्खाइमा थिए।

वडाध्यक्ष वाग्लेले वास्तविक भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान तथा स्वामित्वसम्बन्धी प्रक्रिया टुंग्याउन वडा कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको बताए। सम्बन्धित सरकारी कार्यालयसँग समन्वय गरेर बाँकी प्रक्रिया छिटो पूरा गरी योग्य परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ छ।

कागजात सम्बन्धित निकायमा पुगेपछि अब नापजाँच, अभिलेख परीक्षण तथा कानुनी प्रक्रियाबाट अघि बढ्ने बाटो खुलेको छ। यसले वर्षौँदेखि अस्थिर रूपमा बसोबास गरिरहेका परिवारमा आफ्नो नाममा जग्गा कायम हुने अपेक्षा जगाएको छ।

स्थानीयवासीले भने प्रक्रिया सुरु भएकोमा राहत महसुस गरे पनि अन्तिम चरणसम्म ढिलाइ नगरी लालपुर्जा वितरणको काम टुंग्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार लालपुर्जा प्राप्त भएपछि वर्षौँदेखिको बसोबासले कानुनी आधार पाउनेछ।

Leave a review