बारा । नेपाली कांग्रेस नवलपरासीका सक्रिय युवा नेता बिबास पौडेलले आगामी जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने भएका छन्। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै जिल्लाको राजनीतिमा देखिएको चरम गुटबन्दी अन्त्य गर्ने, पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्ने र समग्र जिल्लालाई संगठनात्मक रूपमा बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।
राजनीतिक यात्रा
पौडेल २०६८ सालदेखि नै सक्रिय राजनीतिमा होमिएका छन्। उनले नेविसंघको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए। २०६८ सालमा कुमारी इन्जिनियरिङ क्याम्पसको नेविसंघ इकाई सचिवका रूपमा जिम्मेवारी सम्हालेका उनले २०७० सालमा सोही इकाईको सभापति भए। त्यसपछि उनी सीटीईभीटी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगे। नेविसंघको ११औँ महाधिवेशनमा उनले कान्छो उम्मेदवारका रूपमा चुनाव लडेका थिए। पुनः २०८० सालमा नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत हुँदै उनले संगठनात्मक राजनीतिमा आफ्नो सक्रियता कायम राखेका छन्। यसरी विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा संगठनात्मक जिम्मेवारी हुँदै जिल्ला तहको राजनीतिक नेतृत्वतर्फ अघि बढेको छ।
जिल्लाको राजनीतिक परिवेश
नवलपरासीको राजनीतिक वातावरण पछिल्लो समय चरम गुटबन्दीले ग्रस्त बनेको छ। यही गुटबन्दीका कारण पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको, संगठन कमजोर बन्दै गएको र सामान्य कार्यकर्तामा निराशा छाएको उनको बुझाइ छ। यही विषयलाई मध्यनजर गर्दै उनले “हाम्रो होइन, राम्रोलाई पार्टीले सम्रक्षण गर्नुपर्छ” भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी अघि बढाएका छन्। उनका अनुसार पार्टीमा योग्य, इमानदार र जनतासँग जोडिएका नेतृत्वलाई अवसर दिनुपर्छ, न कि गुटको आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्छ।
उम्मेदवारीको उद्देश्य
पौडेलले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य जिल्लामा व्याप्त चरम गुटबन्दी अन्त्य गर्नु रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, “म आफ्नै पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई यो अधिवेशनबाट रोक्ने प्रयास गर्नेछु। साथै समग्र जिल्लालाई केन्द्रसँग जोड्ने पहल गर्नेछु।”
उनले जिल्लाको राजनीतिमा सुधार ल्याउने, संगठनलाई जनतासँग जोड्ने र पार्टीलाई सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। साथै उनले जिल्लाका युवा, महिला तथा सम्पूर्ण कार्यकर्तालाई संगठनमा समेटेर लैजाने र पार्टीभित्र स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्ने बताएका छन्।
सबैमा अनुरोध
आफूलाई १० गते हुने अधिवेशनमा धेरैभन्दा धेरै मत दिएर विजय गराउन उनले पार्टीका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा जिल्लावासीसमक्ष हार्दिक अनुरोध गरेका छन्। उनले आफ्नो जितलाई व्यक्तिगत जित नभई जिल्लाको राजनीतिक सुधार र पार्टीको संगठनात्मक बलियोपनको जितका रूपमा लिन आग्रह गरेका छन्।



