रौतहट: ओम प्रकाश यादव/ शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको गरुडा नगरपालिका कार्यालयमाथि तोडफोड गरिएको छ।
स्थानीय नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीवार नगरपालिका कार्यालयमा तोडफोड गरी क्षति पुर्याएका छन्।
नगरपालिकाले नमुना माध्यमिक विद्यालयका शिक्षक शिवशंकर झालाई माध्यमिक विद्यालय झाझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका थिए।
विरोध प्रदर्शन गर्दा गर्दै उनीहरुले नगरपालिका कार्यालय र गाडीमाथि तोडफोड गर्न उत्रेका थिए। विद्यार्थीहरूले ढुंगा प्रहार गरी नगरपालिका कार्यालयको अधिकांश कोठाको झ्यालको सिसा फुटाइदिएको छन भने दुईवटा गाडी र दर्जनौं मोटरसाईकलमा समेत तोडफोड गरी क्षति पुर्याएका छन्।
विद्यार्थीहरुको ढुंगा प्रहारबाट नगरपालिकाको सेवाग्राहीको १२ वटा गाडीमा क्षती पुगेको बताइएको छ। विद्यार्थीले गरेको ढुंगा प्रहारबाट एकजना नगर प्रहरी घाइते भएका छन्।
विद्यार्थीहरूले नगरपालिका कार्यालय अगाडि पार्किंग गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्याएका हुन।
ढुंगा प्रहारबाट मेयर जयसवालले चढ्ने गाडीको सबै सिसा कामै नलाग्ने गरी फुटेको छ भने उक्त गाडीको अन्य भागमा समेत क्षति पुगेको छ।
त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको गाडीमा समेत विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन्। घाइते भएका नगर प्रहरी हवल्दार रामनारायण साहको वीरगन्जमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

