दुर्घटनापछि भलुही चोकमा सडक सुरक्षा सचेतना अभियान

साझेदारी डेलि
193 पाठक संख्या

कलैया । वीरगञ्ज–कलैया सडकखण्डअन्तर्गत भलुही चोकमा हालै भएको सवारी दुर्घटनापछि सो क्षेत्रमा सडक सुरक्षा प्रवद्र्धन तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको पहलमा आयोजित कार्यक्रममा दुर्घटना भएको स्थानको स्थलगत निरीक्षणसँगै स्थानीय बासिन्दा, सवारी चालक र अन्य सडक प्रयोगकर्तालाई सुरक्षित आवागमनका उपायबारे जानकारी गराइएको थियो।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले दुर्घटनाका सम्भावित कारणबारे चर्चा गर्दै लापरवाही, तीव्र गति र ट्राफिक नियमको बेवास्ता सडक दुर्घटनाका प्रमुख कारण हुने उल्लेख गरे। उनले दुर्घटना न्यूनीकरणका लागि चालकले सवारीको अवस्था नियमित परीक्षण गर्नुपर्ने, निर्धारित गति ननाघ्नुपर्ने र सडक प्रयोग गर्दा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

उनले पैदलयात्रीलाई समेत जेब्राक्रसिङ वा सुरक्षित स्थानबाट मात्र सडक पार गर्न आग्रह गर्दै सडक सुरक्षा कुनै एक निकायको मात्र नभई सबै सडक प्रयोगकर्ताको साझा दायित्व भएको बताए।

प्रहरीका अनुसार सचेतना कार्यक्रमलाई दुर्घटना बढी हुने राजमार्गका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ। यस्ता कार्यक्रममार्फत ट्राफिक नियमप्रति नागरिकको सचेतना अभिवृद्धि गरी सडक दुर्घटनाको जोखिम घटाउने लक्ष्य लिइएको जनाइएको छ।

Leave a review