निजगढमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

साझेदारी डेलि
113 पाठक संख्या

बारा । बाराको निजगढ नगरपालिका-१२ रामथलीमा श्रीमानले कुटपिट गरेपछि घाइते भएकी एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर जाँच तथा औषधि उपचार गराइएको थियो।

सोही दिन राति खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट असोज २२ गते बिहिवार बिहान ४ बजे उनका श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि मृत्यु भएको थाहा भएको थियो। त्यसपछि बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रतनपुर तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ।

घटनामा संलग्न विजयलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a review