रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।
मंगलबार राति पानी ट्यांकी नजिकै सोही स्थानका २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ।
घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनास्थलबाट प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद गरेको छ।
गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण खुल्न सकेको छैन। घटनामा संलग्नको खोजी कार्य साथै घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ।



