स्वर्गीय सुजित पाण्डेको स्मृतिमा सुजित मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता कात्तिक २३ गतेदेखि सुरु हुने

साझेदारी डेलि
120 पाठक संख्या

बारा । स्वर्गीय युवा नेता सुजित कुमार पाण्डेको स्मृतिमा बाराको कलैया उपमहानगरपालिका -१४ मा सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने मूल नाराका साथ युथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

समाजका होनहार तथा ऊर्जावान् युवा व्यक्तित्वका रूपमा परिचित स्वर्गीय पाण्डेले सामाजिक विकृति र बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै युवाहरूलाई नेतृत्व प्रदान गरेका थिए। उनको योगदानको स्मरण तथा सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।

आगामी कात्तिक २३ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल बिहान ८ बजेबाट सञ्चालन हुनेछ। प्रतियोगिता कलैया उपमहानगरपालिका–१४ स्थित भौरा टोलको खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको अवलोकन गर्न तथा खेलाडीहरूको हौसला बढाउन आयोजक समितिले सम्पूर्ण खेलप्रेमी र स्थानीय बासिन्दालाई उपस्थितिका लागि अनुरोध गरेको छ।

Leave a review