पथलैयामा अचेत अवस्थामा भेटिए पुरुष, पहिचानका लागि प्रहरीको आग्रह

साझेदारी डेलि
59 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित जंगलको झाडीमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा चिनजानका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बुधबार बिहान करिब १० बजे पथलैया चोकबाट एक किलोमिटर उत्तरतर्फ जंगलभित्रको झाडीमा अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले अचेत अवस्थामा रहेका ती पुरुषको उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाएको प्रवक्ता घलेले जानकारी दिए। उनका अनुसार हालसम्म ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

प्रहरीले सार्वजनिक गरेको हुलियाअनुसार ती पुरुषको वर्ण गहुँगोरो, उचाइ अन्दाजी ५ फिट ५ इन्च र कपाल कालो रहेको छ। उनले निलो रङको जिन्सको हाफ पाइन्ट र खरानी रङको टी–सर्ट लगाएका छन्।

ती पुरुषलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

Leave a review