बारामा सुमोको ठक्करबाट मृत्यु भएका युवकको पहिचान खुल्यो

साझेदारी डेलि
256 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका पैदलयात्री युवकको पहिचान खुलेको छ।

मृतक प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल निवासी १९ वर्षीय अलोक कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकका बुबा सुभाष कुमार साहले शुक्रबार बिहान परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा पुगेर आफ्नो छोरा अलोक कुमार साह रहेको पहिचान गराएका हुन्।

यसअघि बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर पठाइएकोमा राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

प्रवक्ता घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a review