बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

साझेदारी डेलि
801 पाठक संख्या

बारा । बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा कोल्हवी नगरपालिका–२ निवासी मोहन मोक्तानका छोरा २८ वर्षीय अमित मोक्तानको टाउकोमा चोट लागेर अवस्था गम्भीर भएको थियो। उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएकोमा अस्पताल पुगेपछि चिकित्सकले ईसीजी परीक्षण गरी मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा रहेको बराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन्। दुवै जनाको टाउकोमा चोट लागेको र परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झुरझुरबाट प्रहरी सहायक निरीक्षक राजेश दास बनियाको कमान्डमा तथा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा परेको मोटरसाइकल कसले चलाएको थियो भन्ने कुरा हालसम्म खुल्न नसकेको प्रवक्ता घलेले जानकारी दिए।उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review