बारा । बाराको कलैया उपमहानगरपालिका–१४ भौरा टोलस्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।
‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले एक समारोहबीच उद्घाटन गर्नुभएको हो।
समाजका एक होनहार तथा ऊर्जावान् व्यक्तित्व स्वर्गीय सुजित पाण्डेले समाजमा रहेका विकृति र बेथितिविरुद्ध दृढतापूर्वक आवाज उठाउँदै युवाहरूलाई नेतृत्व प्रदान गर्नुभएको योगदानको स्मरण र सम्मानमा प्रतियोगिता आयोजना गरिएको आयोजक यूथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ र वडा नम्बर ७ का टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहेको छ।
सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ गरी चार–चार टोलीमा विभाजन गरिएको छ। समूह चरणअन्तर्गत दैनिक दुईवटा खेल सञ्चालन गरिने अध्यक्ष ठाकुरले जानकारी दिनुभयो। त्यस्तै, सेमिफाइनल र फाइनल चरणका खेल भने फरक–फरक दिनमा सञ्चालन हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित विजेता ट्रफी र खेलाडीहरूलाई मेडल प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित उपविजेता ट्रफी र मेडल प्राप्त गर्नेछ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ, आकर्षक ट्रफी, विशेष मेडल र उपहार प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिताका खेल अवलोकन गर्न आयोजक समितिले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दालाई आग्रह गरेको छ।
उक्त उद्घाटन समारोहमा कलैया उपमहानगरपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव, वडा नम्बर २७ का वडाध्यक्ष अशोक तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका सभापति बब्लु गिरी, रास्वपाका नेता डा. सुशील साहलगायत सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



