कोल्हबी–७ धोधरपामा आयोजित दोस्रो वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि अमावलाई

साझेदारी डेलि
66 पाठक संख्या

कोल्हबी । धिरेन्द्र पनुहर/ बाराको कोल्हबी नगरपालिका वडा नम्बर ७ धोधरपामा धोधरपा फाउन्डेसनको आयोजनामा सञ्चालित दोस्रो वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि श्री अम्बेश्वर ज्योति युवा क्लब अमावले जित्न सफल भएको छ।

प्रतियोगिताअन्तर्गत सम्पन्न फाइनल खेलमा बभनी युथ क्लब बभनीलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै अम्बेश्वर ज्योति युवा क्लब अमावले उपाधि आफ्नो पक्षमा पारेको हो। प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो।

तर, दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै अमाव टोलीले लगातार दुई गोल गर्न सफल भयो। निर्धारित खेल अवधिमा बभनी टोलीले कुनै गोल फर्काउन नसकेपछि अमाव २–० गोलको अन्तरले विजयी हुँदै प्रतियोगिताको च्याम्पियन बनेको हो। पराजित बभनी युथ क्लब बभनी उपविजेतामा सीमित भएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने अमाव टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्ने बभनी टोलीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह कोल्हबी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सलाउद्दिन अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, पूर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, वडा सदस्य धर्मेन्द्र चौधरीलगायतको विशिष्ट आतिथ्यता रहेको थियो। अतिथिहरूले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

समापन समारोह धोधरपा फाउन्डेसनका अध्यक्ष साबिर अन्सारीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा यासिफ अन्सारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने शुभम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो।

स्थानीय स्तरमा फुटबल खेलको विकास, युवाहरूको खेलप्रतिको आकर्षण अभिवृद्धि तथा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले धोधरपा तथा आसपासका क्षेत्रका खेलप्रेमीहरूमा उत्साह थपेको आयोजकले जनाएको छ।

Leave a review