चार चक्के मेशिनबाट धान रोपाइँ

साझेदारी दैनिक
509 पाठक संख्या

जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेशिन मगाएको थियो । रु २० लाख ९० हजारका दरले खरिद गरिएका दुई वटा मेशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेशिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेशिनबाट धान रोपाइँ गरिएको थियो ।

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताउनुभयो । “यो प्रविधि सस्तो र सरल छ”, उहाँले भन्नुभयो, “उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।” सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेशिन देशमै पहिलो पटक हो । यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेशिन भित्र्याउनुभएको थियो । चितवनमा यसअघि तीन पाङ्ग्रे मेशिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा चार चक्के मेशिन ल्याउन तयारी थालेको थियो । यस मेशिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।

मेशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेशिनले रोप्ने बीउ भने ‘ट्रे’ (बीउ जमाउन प्रयोग गरिने भाँडो)मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मेशिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।

बीउ लगाउने मेशिन पनि स्वचालित र ‘मेनुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेशिन छ । स्वचालित मेशिनले एक घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । एक सय ६० ट्रेमा हुर्किएको बीउले एक बिघा क्षेत्रफलमा रोप्न पुग्छ । एक दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।

नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो । अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, सवारी साधन दुर्घटना गराउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारी साधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताउनुभयो ।

अभियानअन्तर्गत आइतबारमात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ४२ चालक÷सहचालकलाई तीन घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमितरुपमा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।रासस

Leave a review