रञ्जन यादव/
प्रहरी र वन सुरक्षाकर्मीको संयुक्त टोलीले बाराको निजगढ स्थित छुट्टाछुट्टै स्थानबाट करिव ३ सय क्यु फिट सालको काठ बरामद गरेको छ ।
सब डिभिजन वन कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी वेस क्याम्प निजगढबाट खटेको सुरक्षाकर्मीको संयुक्त टोलीले सोमवार निजगढ नगरपालिका वडा नम्बर ९ स्थित वाक्यश्वर महादेव मन्दिर नजिक बकैया नदीको बगर र स्थानीयको केराबारीमा जमिनमुनि गाढेको अवस्थामा सो परिमाणको काठ बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा काठ बरामद गरिएको सब डिभिजन निजगढका प्रमुख रघुनाथ दासले जानकारी दिए । बकैया खोलाको बगरबाट १२० क्युफिट सालको गोलिया, टुना र वडा नम्बर ९ को तेस्रो लाइन क्षेत्रको केराबारीमा गाढेर राखेको अवस्थामा घरको खामा साइजको २७ थान करिव १५० क्यु फिट सालको काठ बरामद गरिएको हो । बरामद काठ थप अनुसन्धानको लागि सबडिभिजन वन कार्यालय निजगढमा राखिएको छ ।