सुभाष कुमार मिश्र/
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित तरहरी नदिमा दुईवटा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।
नगरपालिकाको डुमरिया स्थित रहेको तरहरी नदिमा बर्षेनी बाढी र वर्षादका कारण समस्या झेल्दै आएको अवस्थाको मध्यनजर गरिदै सो ठाँउमा झोलुङ्गे पुल बनाउन शुरु गरिएको हो ।
बुधबार एक समारोहकाबीच नगरप्रमुख अजय प्रकाश जयसवालले उक्त झोलुङ्गे निर्माणको लागि विधिवत शिलान्यास गरेका हुन् ।
बर्षादको समयमा आवतजावतमा समस्या झेल्दै आएका स्थानीय खतवहिया र पल्टुवाका वासिन्दाले झोलुङ्गे पुल निर्माण हुने भएपछि हर्षित भएका छन् ।
मधेस प्रदेश सरकार बाट प्राप्त अनुदान १ करोड २८ लाखको लागतमा बन्ने उक्त झोलुङ्गे पुल आगामी आर्थिक वर्ष २०८०÷०८१ भित्रमा कार्य सम्पन्न भई आवतजावत गर्न सक्ने बताइएको छ । वडा नम्बर ९ मा पर्ने स्थानीय रुपमा भनिदै आएको डुमरिया र खतवहिया तथा पल्टुवा र डुमरिया टोल जोड्ने तरहरी खोलामा दुइवटा झोलुङ्गे निर्माणका लागि शिलान्यास गरिएको नगरप्रमुख जयसवालले बताए।
नगरप्रमुख जयसवालले भने झै दुई गाउँ र कृषि कार्यको लागि खोला पारी जान निकै समस्या रहेका स्थानीयहरुको जीवनमा यसले परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । स्थानीय तहको बजेटले यो सम्भव नभएकाले केही समय लागेको पनि उहाँले बताउनुभयो ।
सडक पहुँच नभएका र पुल बनाउन खर्चिलो हुने ठाँउमा झोलुङ्गे पुल बनाएर नगरवासीलाइ हिडडुलमा सहज बनाउने उहाँको प्रतिबद्धता छ।
झोलुङ्गे पुल बनेपछि बर्षौदेखि खोला पारी बस्दै आएका स्थानीयहरुलाई आवतजावत गर्न जोखिम मोल्नु पर्ने अवस्थाको अन्त्य हुने स्थानीयहरु खुसी भएका छन ।