भारतमा जारी इन्डियन प्रिमियर लिग खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने चार जना वीरगञ्जबाट पक्राउ

साझेदारी दैनिक
1.1k पाठक संख्या
साझेदारी संवाददाता/
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्सा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार सम्पन्न आइपीएलको मुम्बई इन्डियन र लखनउ सुपर जाइन्ट्स विच भएको सेमी फाइनल खेलमा अनलाईन सट्टाबाजी गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय सन्तोष कुमार यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जारी गरेको प्रेस नोट अनुसार  प्रहरीले वीरगञ्ज महानगरपालिका – १५ स्थित सञ्जय श्रीवास्तवको घरमा आइपीएल खेलको अनलाइन सट्टाबाजी चलिरहेको विशेष सूचना प्राप्त गरेको थियो ।
सूचनामाथि कारवाही गर्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले श्रीवास्तवको तिन तल्ले घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा यादव, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
प्रवक्ता गिरीकाअनुसार प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ बरामद गरेको छ भने अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरेको छ ।
पक्राउ परेकाहरु माथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बताएका छन्  ।
Leave a review

This will close in 0 seconds