लामो समयदेखि बन्द अवस्थामा रहेको चिनी मिलको जग्गामा भौतिक संरचना बिना अनुमति नबनाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको चिनी मिल र पोखरियामा रहेको चिनी मिलको जग्गामा अनुमति बिना भौतिक सँरचना नबनाउन निर्देशन दिएको हो ।
मन्त्रालयले मंसिर २२ मा कारखानाको जग्गामा भइरहेको निर्माण कार्य तथा अतिक्रमण रोक्न भनेको छ । मन्त्रालय वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिएको हो।
मंसिर २० मा कारखानाको जग्गामा भइरहेको निर्माण रोक्न, अतिक्रमण हुन नदिन गृह मन्त्रालयमार्फत सो निर्देशन आएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सालाई र संघीय मामिला तथा सामान्य मन्त्रालायमार्फत वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिने निर्णय गरेको हो ।
यसबारे मन्त्रालयका शाखा अधिृकत तोयानाथ सापकोटाद्वारा हस्ताक्षर भएको पत्रमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले स्थायी निर्माण कार्य नरोकिए स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीको चेतावनी समेत दिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगञ्जले संरक्षण तथा रेखदेख गर्दै आएको वीरगन्ज चिनी कारखानाको क्षेत्रभित्र रहेको जमिनमा वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय शिवको बिशाल मूर्ति स्थापना र पुरानो मन्दिरलाई सजावट गरी सौन्दर्यीकरणको काम गर्दै आएको छ ।
त्यसैगरी चिनी कारखानाकै नाउँमा रहेको पोखरिया नगरपालिकाको पोखरिया बजारस्थित डेढ कठ्ठा जग्गामा नगरपालिकाले घण्टाघर निर्माण गर्न लागेको छ ।
नगरपालिकाको बोर्डले पर्यटन प्रबर्द्धनका लागि घण्टाघर निर्माण गर्ने निर्णय गरेको थियो ।

