कोल्हबी । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै कोल्हबीमा शिक्षकहरूले विरोध प्रदर्शनसँगै दीप प्रज्वलन गरेका छन्।
नेपाल शिक्षक महासंघ तदर्थ समिति कोल्हबीको आह्वानमा भएको कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरू सहभागी भएका थिए। समितिका संयोजक हितेन्द्र चौधरीको नेतृत्वमा निकालिएको प्रदर्शनले घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्यायको माग गरेको थियो।
थारु सेवा सदनको परिसरबाट सुरु भएको -याली कोल्हबी बजारका विभिन्न भाग हुँदै शिव मन्दिर अगाडि पुगेपछि कोणसभामा परिणत भएको थियो। सहभागीहरूले न्यायको मागसहितका प्लेकार्ड बोकेर दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
कोणसभामा संयोजक हितेन्द्र चौधरीसहित वीरेन्द्र चौधरी र नन्देश्वर चौधरीले घटनाको निष्पक्ष छानबिनमा जोड दिए। उनीहरूले बालिकाको मृत्यु प्रकरणलाई गम्भीरतापूर्वक लिएर दोषी प्रमाणित हुने व्यक्तिमाथि प्रचलित कानुनअनुसार हदैसम्मको सजाय हुनुपर्ने धारणा राखे।
वक्ताहरूले पीडित परिवारको न्यायका लागि स्थानीयस्तरदेखि व्यापक सामाजिक ऐक्यबद्धता आवश्यक रहेको बताए। उनीहरूले अनुसन्धानमा कुनै प्रकारको दबाब वा प्रभाव पर्न नदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरे।
कार्यक्रमको अन्त्यमा गरिमाको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। सहभागी शिक्षकहरूले केही समय मौनधारण गर्दै दिवंगत बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारलाई दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।


