आर्थिक मन्दी र बिद्युतको लाईन काटेको बहानामा उद्योगीहरु आफनो प्रतिष्ठानबाट श्रमिकहरुलाई हटाउँन थालेपछि अखिल नेपाल औधोगिक मजदुर संघले आफनो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष बेनी तिमल्सिनाले एक प्रेस बिज्ञप्ति जारी गर्दै उद्योगको बिद्युत महसुल बुझाउँनुपर्ने काम उद्योगीको र महसुल उठाउँने काम बिद्युत प्राधिकरणको भएपनि दुबैको कारण श्रमिकहरुलाई रोजगारी गुमाउँनुपर्ने बाध्यता आउँनु दुखद बिषय भएको बताएका छन् ।
बिज्ञप्तिमा बिद्युत महसुल बुझाउँन बाँकी उद्योगीहरुलाई महसुल बुझाई उद्योग सञ्चालन गर्ने बाताबरण बनाउँन अनुरोध गरिएको छ । आर्थिक मन्दीको बहाना बनाई उद्योगीहरुले श्रमि कटौँती गर्ने,जगेडामा राख्ने जस्ता मजदुर बिरोधी कार्य गरिरहेको जनाएको छ ।
उद्योगहरुले मजदुर बिरोधी कार्य गरिरहेको अवस्थामा यस्तो कार्यलाई टेवा पुग्ने गरी बिद्युतको लाईन काट्नुभन्दा कानुनी बाटोबाट श्रमिकलाई असर नपर्ने गरी निकास खोज्न नेपाल सरकारसँग बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
२०७२ सालदेखि २०७६ सालसम्म ट्रंकलाईनबाट डेडिकेटेड फिडर प्रयोग गरी बिद्युत उपभोग गरेका उद्योगहरुले महसुल बापतको अर्बौ रकम तिर्न बाँकी छ ।
नेपाल बिद्युत प्राधिकरणले पुस ७ गतेबाट १० वटा उद्योगको बिद्युत लाईन काटेको र चरणबद्ध रुपमा अन्य उद्योगको लाईन पनि काटेको छ ।
लाईन काटेको समाचार बाहिर आएपछि उद्योगहरु मध्ये त्रिबेणी स्पेनिङ् लि. बारामा कार्यरत १ हजार ५ सय श्रमिकहरुलाई उद्योगपतीले जगेडामा राखेको र अझै अन्य उद्योगका १० हजार श्रमिकहरुको रोजगारी समेत प्रत्यक्ष प्रभाव पर्नसक्ने भएकाले यसतर्फ सरोकारवालाहरुको ध्यान अखिल नेपाल औधोगिक मजदुर संघले आकर्षित गरेको छ ।


