ट्राफिक नियम उलंघनबाट ट्राफिक प्रहरीले संकलन गर्‍यो ८ महिनामा करिब २ करोड रुपैयाँ राजश्व संकलन

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 251 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारामा ट्राफिक नियम उलंघनबाट चालु आर्थिक वर्षको ८ महिनामा करिब २ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले विभिन्‍न शिर्षकमा चालु आर्थिक वर्ष २०८०–०८१ को ८ महिनाको अवधिमा १ करोड ९० लाख ९९ हजार ५ सय राजस्व संकलन गरेको छ।

यो चालु बर्षको ८ महिनामा बारामा २२ हजार ८ सय ९१ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिएका छन ।

निरीक्षक महतोका अनुसार ट्रक, बस ,कार,जिप,भ्यान,ट्रयाकर, मोटरसाईकल र अन्य टेम्पोहरुलाई कारवाही गरिएको छ । अहिले संकलन भएको राजस्व गत आर्थिक वर्षको भन्दा बढी रहेको उनले जनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

बिधालयमा सचेतनामुलक कार्यक्रम तथा मोटरसाइकल चालक,हेल्मेट नलगाउने,३ जना मोटरसाइकलमा चढ्नेलाई सडकमै सवारीसाधनलाई रोकी जनचेतना मुलक कार्यक्रममा क्रियाशिलता देखाएका कारण राजस्वमा वृद्धि भएको महतोले बताए ।

जिल्लामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र मातहतको युनिटले सडकमै प्रशिक्षण दिन अभियानका साथै उखु लोड रहेका ट्रयाक्टरमा सावधानी लेखिएको ब्यानर लगाउन सुरु गरेको महतोले जानकारी दिए ।

८ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा परेको उनले जानकारी दिए । ट्राफिक प्रमुख महतोले जिल्लामा सबै सवारी चालकले ट्राफिक नियम कानुनको पालना गर्नुपर्ने बताएका छन ।

ट्राफिक नियमको पालना नहुदा बारामा सहित देशभर सवारी दुर्घटना बढ्ने भएकाले जनताकै ज्यान रक्षाको लागि चेकजाँच प्रभावकारी बनाइएको उनले बताए ।

यसैविच चालु आर्थिक वर्षको ८ महिनामा ६ सय १६ दुर्घटनाबाट ५८ जनाको ज्यान गएको, सख्त घाइते ९८ जना,सामान्य घाइते १ हजार १६ जना र सवारी क्षति १ सय ६१ वटा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

यसैगरी शहरी सडकमा ६३, ग्रामीण सडकमा ४ सय ५१ र हाईवे राजमार्गमा १ सय २ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराकोको तथ्याङ्कलाई मध्यनजर गर्दा ग्रामीण सडक खण्डमा सबैभन्दा बढी ४ सय ५१ वटा सवारी दुर्घटना उल्लेख छ ।

बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका,ओभरटेक,तिव्रगतिमा सवारी चलाउनु,मादक पदार्थ सेवन,सवारी चालक अनुमति पत्र नभएको,यान्त्रिक,यात्रुको गल्ती,सडकको अवस्था लगायतका विभिन्न कारण नै देशभर सवारी दुर्घटना बढेको हो ।

यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने,तीब्रगतीमा सवारी चलाउने,क्षमता भन्दा बढी राख्ने,लेन अनुशासन सडक पालन नगर्ने,जथाभावी पार्किङ गर्ने,तोकिएको भन्दा बढी भाडा लिने,आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत जिल्ला ट्राफिक कार्यालयले उक्त रकम राजश्व संकलन भएको जनाएको छ ।

प्रहरी निरीक्षक महतोले भने, ‘प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान,सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य बाटोमै रोकेर जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं ।

ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा सवारी चेकजाँचमा कडाई गर्दै आएको छ । ट्राफिक प्रहरीका प्रमुख महतोका अनुसार ८ महिनामा २३ हजार ४ सय ४० ट्राफिक नियम सम्बन्धी पर्चा पम्पलेट वितरण र बिद्यार्थी तथा ६ सय ५६ जनालाई ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम गरिएको बताए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review