पर्सामा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा निषेध

साझेदारी डेलि
400 पाठक संख्या

कलैया । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै पर्सा प्रशासनले मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आज एक सार्वजनिक सूचना जारी गरी यस्तो रोक लगाएको जनाएका हुन्।

फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयहरित वातावरणमा सम्पन्न गर्नका लागि निषेध गरिएको हो। सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न सक्ने असरलाई दृष्टिगत गरीजिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यस्तो निषेध गरिएको जनाइएको हो।

निर्वाचन आयोग नेपालद्वारा प्रकाशित विज्ञप्ति, गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले गरेको निर्णयानुसार शुक्रबारदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म यो निषेध आदेश लागु हुनेछ।

पर्सा जिल्लामा मादक पदार्थ विक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको व्यहोरा सम्बन्धि सबैमा जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।

कोही कसैले यो सूचनाको बर्खिलाप गरी मदिरा विक्री वितरण र सेवन गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत सो सूचनामा दिइएको छ।

Leave a review