लक्ष्मी खरेल/
बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करी तथा हिंसा विरुद्ध शून्य सहनशिलताको प्रयासमा प्रहरीलाई सघाउन बारावासीसँग आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा सोमबार आयोजित जिल्लाका कृयाशिल सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरु संग सुझाव लिने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
प्रहरी उपरीक्षक खड्काले दोषीको रुपमा प्रहरी नै पाएपनि कारवाहिको दायरामा ल्याउने बताए ।
कहिंकतै गलत भएको पाए जानकारी गराउन सबैसँग उनले आग्रह गरे । सुझाव वा गुनासो सहजरुपमा आफुसम्म आइपुगोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा गुनासो पेटिकाको व्यवस्थापन गर्ने उनले जानकारी गराए ।
आम नागरिक बिना वर्दीको प्रहरी भएकोले नियम मिच्ने जो कोहिलाई कारवाहिको दायरामा ल्याउन वर्दीधारी प्रहरीलाई सहयोग गर्न उनले अनुरोध गरे ।
जानाजानी हेलमेट नलगाएको,लाइसेन्स ब्लुबुक साथमा नराखेको जस्ता गल्ति ढाकछोपको सिफारिस नगरिदिन पनि उसले आग्रह गरे । यसले गलतलाई प्रस्रय दिने तथा पहुँचको दुरुपयोग हुने भएकोले यस्ता किसिमका सिफारिसलाई नमान्ने बताए ।
भेटमा सहभागिहरुले भन्सारमा घरायसी सामान ल्याउँदा झेल्नुपरेका आम जनताको समस्या प्रति गम्भीर भइदिन तथा लागूऔषध दुव्र्यसनीबाट युवालाई बचाउन विषेश ध्यान दिन सुझाव दिएका थिए ।
सो भेटघाट कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंग बहादुर यादव,उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, धनिलाल सरार्फ,जनजागरण युवा क्लब,साथसाथ सिकाई सञ्जालका अध्यक्ष सरस्वती खरेल,समानता अभियानका निभा सिंह लगायतका दर्जन बढि संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सबैसँगको सुझाव समेट्दै प्रहरी उपरीक्षक खड्काले बारामा शान्ति सुव्यवस्था कायम गर्न हरेकबाट सकरात्मक साथको अपेक्षा राखेकोमा जोड दिए ।

