वीरगञ्ज : नहरमा समयमा पानी आएपछि गहुँ बाली लगाएका पर्सा बारा रौतहटका किसान लाभान्वित भएका छन् ।
पर्सा देखि रौतहटसम्म रहेको गण्डक नहरमा भारतले समयमा नै पानी छाडेको हो। पानीको कारणले यी तीन जिल्लाका किसान लाभान्वित भएका हुन्।नेपाल भारतबिच भएको गण्डक नहर सम्झौता अनुसार भारतले गहुँ बालिको लागि यसपालि समयमा नै नहरमा पानी छोडेको हो।
अहिले गण्डक नहरमा पाँच सय क्युसेक पानी भारतले छोडेको छ ।उक्त पानी पर्सा हुँदै रौतहटसम्म पुगेकाले गहुँ बाली लगाएका तीन जिल्लाका किसान समयमै बालीमा सिंचाइ गरिरहेका छन्।
भारतले गण्डक नहरमा पुस १४ गते नै पानी छोडेको नारायणी सिंचाइ डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर सुरेस साहले जानकारी दिए। भारतले नहरमा छोडेको पानी अहिले गहुँबालीमा सिंचाइको लागि पर्याप्त रहेको उनले जनाए।
पर्सादेखी रौतहटसम्म नै पानी पुगिसकेको बताउदै किसानहरु नहरमा आएको पानीले गहुँ बालिमा सिंचाइ गरिरहेको साहले बताए ।
नेपाल र भारत बिच भएको गण्डक सम्झौता अनुसार भारतले हरेक बर्ष धान बालिका लागि असार १५ र गहुँ बालिका लागि पुस १५ मा साढे ८ सय क्युसेक पानी छाडनुपर्ने सम्झौता रहेको छ। गण्डक नहरबाट पर्सा,बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार हेक्टर जग्गामा सिंचाइ हुने गरेको छ।


