पर्सामा डुबेर दुई बालकको मृत्यु,मधेस प्रदेशमै पानीमा डुबेर बालबालिकाको मृत्यु बढदो

राम मण्डल
443 पाठक संख्या

वीरगञ्ज : मधेश प्रदेशमा पछिल्लो समय नदीमा तथा खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने क्रम बढदै गएको छ ।

प्रदेशका आठवटै जिल्लाहरुमा नदी तथा खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु हुनेको सँख्या बढदो क्रममा देखिएको छ । पर्सामा आईतबार नै नदीमा आमासँगै नुहाउन गएका दुई जना बालकहरुको डुबेर मृत्यु भएको छ ।

भारत घर भई पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलमा मामाघरमा बस्दै आएका दुई जना बालकहरुको सिक्टा नदीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरूमा भारत बिहार बेतिया बनकटवाका रितेश ठाकुरका १० बर्षका छोरा गुलशन ठाकुर र बिहार सिक्टाका अनरजित पटेलका छोरा ८ बर्षका अभिषेक पटेल रहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए ।

दुबै जना बालक हरु ऋषि पन्चमी पर्बको अवसरमा आमा संगै नुहाउन सिक्टा नदिमा गएको बेलामा डुबेको उनले बताए ।पर्सा मात्रै नभई प्रदेशका अन्य जिल्लाहरुमा समेत नदीमा डुबेर मृत्यु हुनेको सँख्या निरन्तर बढी नै रहेको देखिन्छ । मधेसमा चालु आर्थिक बर्ष ०८१/८२ को गत साउनयता पानीमा डुबेर ३९ बालबालिका र १० वयस्कसहित ४९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

जसमध्ये सबै भन्दा बढी धनुषामा १२ जनाको पानीमा डुबेर ज्यान गएको छ । यस्तै महोत्तरी जिल्लामा ९,सप्तरीमा ७,सर्लाही र रौतहटमा ६–६,सिरहा र पर्सामा ४–४ र बारामा १ जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्याँकमा जनाइएको छ । प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा डुबेर १ सय ८५ जनाको मृत्यु भएको थियो,जसमध्ये १ सय २४ जना बालबालिका थिए ।

मधेसमा अत्याधिक गर्मी हुने भएकाले यहाँका बालबालिकाहरु नजिकैको नदी तथा तलाउमा नुहाउनको लागि जाने गरेका छन ।नुहाउने क्रममा नै बढी जसो गरेर बालबालिकाहरुको डुबेर ज्यान जाने गरेको छ । यस्तै प्रदेशमा ठेकेदारहरुले बाटो बनाउने क्रममा खाल्डो खनेर लामो समयसम्म छाडिदिएका कारणले त्यसमा जमेको पानीमा समेत डुबेर बालबालिकाहरुको मृत्यु हुदै आएको छ ।

Leave a review