जिल्ला विपद व्यवस्थापन समिति रौतहटद्वारा विवरण संकलन गर्ने गर्‍यो निर्णय

साझेदारी दैनिक
303 पाठक संख्या

रौतहट,ओम प्रकाश यादव/ जिल्ला विपद व्यवस्थापन समिति रौतहटले बाढीबाट भएको क्षति विवरण संकलन गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा मंगलवार बिपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। रौतहटका बाढी प्रभावित नागरिकको समस्या कसरी समाधान गर्ने, राहत र पुननिर्माण कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आवश्यक निर्णय तथा सल्लाह सुझाव लिने उद्देश्यले सो बैठक बसेको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले १८ वटै पालिकाका नगर प्रमुख,राजनीतिकर्मी,संघ संस्थाका प्रतिनिधि,लगायतलाई बैठकमा बोलाएका थिए।

बैठकमा महत्वपूर्ण निर्णय गरिएको छ । बाग्मती र लालबकैया नदिमा आएको बाढीले कटान गरेको बाँधहरुलाई अस्थायी रूपमा भएपनि मर्मत सम्भारको काम तत्काल अगाडि बढाउने र बाढीले क्षति भएका धान,उखु, केरा,तरकारी लगायत बाली, माछा र घर एवं अन्य क्षतिग्रस्त सामानहरुको विवरण तीन दिन भित्र तयार गरी जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाउन सम्पूर्ण पालिकाका मेयरहरुलाइ आग्रह गरिएको छ ।

पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने निर्णय बैठकले गरेको छ। रौतहटको बागमती र लालबकैया नदीको बाँध दुई कारणले प्रत्येक वर्ष भत्किने गरेको सो बैठकमा औल्याइएको छ ।

दुबै नदीको बाँध रेखदेख र मर्मत सम्भार गर्ने प्रमुख जिम्मेवारी नदी नियन्त्रण आयोजनाको कार्यालय परवानिपुर बाराको रहेको छ। कार्यालयको चरम लापरबाहीका कारण बागमती र लालबकैया नदीको तटबन्ध भत्केर बाढिको पानी प्रतेक वर्ष जसो बस्तिमा प्रवेश गरी जिल्लामा ठूलो संख्यामा जनधनको क्षति पु-याउनुका साथै करोडौंको बालिनालीमा नष्ट गर्ने गरेको छ ।

नदी नियन्त्रण कार्यालय बाराले बाढी आउनु भन्दा अघि सम्भावित बाँध कटान हुन सक्ने ठाउँलाई मर्मत गर्न ध्यान नदिने गरेको,समयमा अनुगमन नगर्ने गरेको,जोखिम भएको ठाउँलाई पहिचान गर्न नसकेको,नदी नियन्त्रणका लागि कुनै चासो नलिने जस्ता कारणले बाँध भत्कने गरेको सहभागीहरुले बताएका थिए ।

स्थानीय तहले बाँधलाई मर्मत सम्भार गर्दा मलेपाले यो नदी नियन्त्रणले गर्ने काम हो तपाई स्थानीय सरकारले किन गर्नु भो भन्दै बेरुजु ठह¥याउने गरेका कारण बाँध मर्मत गर्न स्थानीय सरकारले चासो नलिने गरेको समेत बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा विपद व्यवस्थापन समितिको बैठकले बारामा रहेको नदी नियन्त्रण आयोजनाको कार्यालयलाइ तत्काल रौतहटको गौरमा सार्न पहल गर्ने निर्णय गरिएको छ ।

बागमती र लालबकैया दुबै नदिको बेड लेवल माथि आएकोले गहिरो गर्न र दुबै तिर बाधको हाईट बढाई बाँध कटानको समस्यालाइ स्थाई वा दीर्घकालीन रूपमा समाधान गर्न जिल्लको ४ वटै संघीय सांसद,८ वटै प्रदेस सांसद र १८ वटै नगर प्रमुख,राजनीतिक दल,नागरिक समाज,पत्रकार समेतको उपस्थितिमा छलफल गरि कार्य अघि बढाउने निर्णय गरिएको छ ।

बैठकमा जिल्लाका १८ वटै पालिकाका नगर प्रमुख,प्रशासकीय अधिकृत,जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिलिप घिमिरे,अनुसन्धानका प्रमुख अभिनय सिंह लगायत अन्य सुरक्षा निकायका प्रमुख,राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds