वीरगञ्ज : सात बुँदे माँग राख्दै पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ज्ञापन पत्र बुझाएको छ।
सोमबार पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो।
स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने,हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने लगायत सात बुँदे माँग राख्दै नगरपालिकाका प्रमुख प्रद्धुम्न चौहानलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र मार्फत कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने,नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने,निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने,नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने लगायतका माँगहरु गरिएको छ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका रहेको भएपनि हालसम्म पनि जनतालाई त्यसको अनुभूति नभएको ज्ञापन पत्र बुझाउन गएका पार्टीका केन्द्रिय सदस्य समानीले बताए।
सेवा विस्तार नगरी पूर्व नगर प्रमुखको पालामा लगाइएको सम्पत्ति कर अहिले १५ सयदेखि पाँच हजार सम्म बढाईएको उनले जिकिर गरे।
नगरपालिकालाई भर्ती केन्द्र बनाई कर्मचारी तथा जनप्रतिनिधिको मिलोमतोमा ठगी धन्दा भई रहेको समानीको भनाई थियो।
ज्ञापन पत्रमा समेटिएको माँगहरु एक महिनाभित्र पुरा नभए नगरपालिकाको बेतिथीहरुको भण्डाफोरको साथै संघर्ष गर्न बाध्य हुने पनि उनले चेतावनी दिए।

