शिक्षा क्षेत्रको भौतिक शैक्षिक विकासको लागि बाराका यूवाहरुद्वारा शिक्षा मन्त्री पुनलाई दिए ज्ञापन

साझेदारी दैनिक
182 पाठक संख्या

कलैया : बाराका यूवाहरुले शिक्षा क्षेत्रको भौतिक शैक्षिक विकासको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसंग बिहीबार माग गरेका छन्। ईन्जिनियर सौरभ चौगाईको नेतृत्वमा गएको टोलीले मन्त्री पुनलाई ज्ञापनपत्र दिदै यस्तो माग गरेको हो।

शिक्षा क्षेत्रको भौतिक, शैक्षिक तथा प्राविधिक विकासका लागि आवश्यक बजेट, नीति र कार्यक्रमको माग ज्ञापनपत्रमा गरिएको छ। नेपाल सरकारले शिक्षा क्षेत्रको विकास र विस्तारका लागि विभिन्न नीति तथा कार्यक्रमहरू ल्याए पनि ती कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ज्ञापनपत्रमा लेखिएको छ।

विद्यालय व्यवस्थापन समितिविहिन रहेका विद्यालयहरुमा अविलम्ब विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। नेपालको संविधान अनुसार विद्यालय शिक्षा पूर्ण निशुल्क भएपनि कतिपय विद्यालयले अंग्रेजी माध्यमका नाममा महिनाको हजारौ शुल्क उठाउने गरेकोले शुल्क उठाउने काम अविलम्ब बन्द हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। मधेश प्रदेशका जिल्लाहरु अहिले सम्म पूर्ण साक्षर हुन नसकेकाले त्यहाका जनताहरुलाई साक्षर बनाउनको निम्ति +२ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्न माग ज्ञापनपत्रमा गरिएको छ।

अहिलेको जमाना डिजिटल युग भएकोले कक्षा ४ देखि नै विद्यार्थीहरुलाई अनिवार्य कम्प्युटर शिक्षाको व्यवस्था हुनुपर्ने माग गरिएको छ। विद्यालय तहमा पढने विद्यार्थीहरुलाई घरायसी जीवनमा काम लाग्ने सीप विद्यालयमै सिकाईनुपर्ने भने उच्च तह (स्स्रातक, स्नातकोत्तर) मा अध्ययनरत विद्यार्थीहरुको निम्ति रोजगारीमुखी शिक्षा पाठयक्रममै व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ।

उच्च शिक्षामा दलित र मुस्लिम महिलाहरुको पहुच न्युन भएकोले उच्च शिक्षामा उनीहरुको संख्या बढाउनको लागि छात्रवृत्तिको कार्यक्रमहरु ल्याउनुपर्ने माग गरिएको छ। सहीदका सन्तानलाई जुन सुकै तहमा निशुल्क अध्ययनको अवसर उपलब्ध गराउनुको साथै मासिक रुपमा केहि रकम छात्रवृत्तिको रुपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। न्युन आय भएका परिवारको सन्तानको लागी ईञ्जिनियरिङ्ग र मेडिकल शिक्षा अध्ययनको लागी विशेष कार्यक्रमहरु ल्याउनुपर्ने भनिएको छ।

धार्मिक विद्यालयहरुको संख्या कम गर्दै जिल्लाभरीमा एउटा मात्र धार्मिक विद्यालय हुनुपर्ने र उक्त विद्यालयबाटै सबै धर्मको बारेमा अध्यापन गराईनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। देशैभरी विज्ञान र गणित शिक्षकको अभाव देखिएकोले स्टेम, विज्ञान, ईन्जिनियर, प्रविधि र गणित क्षेत्र तर्फ विद्यार्थी आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउनुपर्ने माग ज्ञापनपत्रमा लेखिएको छ। एनईबी र सिटिइभिटी दुवै तिरबाट प्राविधिक शिक्षा अध्यापन गराईए पनि प्रभावकारी नभएकोले यस बारेमा अध्ययन गरी कुनै एउटै बोर्डबाट मात्र प्राविधिक शिक्षा अध्यापन गराईने व्यवस्था मिलाउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ।

मधेश प्रदेशको बारा जिल्लाको सदरमुकाम कलैयामा बुढानीलकण्ठ स्तरको विद्यालय संचालन गर्नुपर्ने साथै अन्य ६ प्रदेशहरुमा पनि उपयुक्त स्थानमा बुढानीलकण्ठ स्तरको विद्यालय संचालन हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। कलैया –१४ मा रहेको ऐलानी जग्गामा विज्ञान पार्क, अनुसन्धान केन्द्रसहितको प्राविधिक विश्वविद्यालय बनाउन योजना ल्याउन माग गरिएको छ। तराई मधेशका विद्यालयहरुमा छानोको रुपमा प्रयोग गरिएको जस्ता पातालाई विस्थापित गर्दै कक्षाकोठाहरु वातानुकुलित बनाईनुपर्ने माग गरिएको छ। प्रत्येक विद्यालयमा एक विद्यार्थी एक खेल अवधारणा सहितका कार्यक्रमहरु लागु गर्नुपर्ने माग गरिएको छ।

विद्यालय दिवा खाजामा हुने अनियमितता तथा भ्रष्टाचारलाई नियन्त्रण गर्दै खाजाको रकम समयानुकुल बनाउनुपर्ने माग गरिएको छ। विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय र स्मार्ट कक्षाकोठा स्थापना गर्न आवश्यक बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउन माग ज्ञापनपत्रमा गरिएको छ। विद्यालयमा दरबन्दीअनुसार शिक्षक÷कर्मचारी नियुक्ति तथा खाली दरबन्दी पूर्ति गर्ने माग गरिएको छ।

विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक, पोशाक र छात्रवृत्तिको व्यवस्था मिलाउने माग ज्ञापनपत्रमा गरिएको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न आवश्यक मेसिन, औजार र प्रशिक्षकको व्यवस्था गर्न माग ज्ञापनपत्रमा गरिएको छ। . विद्यालयमा इन्टरनेट, विद्युत् र शुद्ध खानेपानीको स्थायी व्यवस्था गर्न भनिएको छ। शिक्षकहरूका लागि तालिम, सेमिनार र अध्ययन अवलोकनको अवसर प्रदान गर्न भनिएको छ। लाखौ विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको यो माग रहेकोले मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न ज्ञापनपत्रमा लेखिएको छ।

उक्त टोलिमा ईन्जिनियर अभिषेक कुशवाहा, ईन्जिनियर रामनिवास कुशवाहा एवम प्रदिप कुशवाहा रहेका थिए।

Leave a review