कलैया : २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगको उपनिर्वाचन कार्यतालिका बमोजिम शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आयोगले देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८वटा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ।
सो कार्यालयहरु उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएको आयोगको सहसचिव तथा प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएकी हुन्।
कार्यालय स्थापना भए पश्चात २०८१ मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम २०८१ मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ हुनेछ। मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
मंसिर १६ गते विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ। यसैविच आयोगका प्रवक्तामा नीता पोखरेल अर्याललाई तोकिएको आयोगले जनाएको छ।

