कलैया : सर्वोच्च अदालतले प्रमुख प्रशासकीय अधिकृतको रिट निवेदन खारेजी गरेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको बाटो खुलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सरुवाको निर्णयविरुद्ध नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्च अदालतमा दिएको रिटको सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले निर्णयका विरुद्धमा काफ्लेले दिएको रिट खारेज गरिदिएको हो ।
सर्वोच्चले रिट खारेज गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनका लागि बाटो खुलेको छ भने हालकी काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने बाध्यता रहेको एक स्रोतले बताएाको छ ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट पनि माग दाबी नपुगेको खारेज गरिदिएको स्रोतको दाबी छ ।
सामान्य प्रशासन मन्त्रालयले ३ साउनमा काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको निणर्य गरेको थियो ।
तर पोखरेल आउन नचाहेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले वीरेन्द्रदेव भारतीलाई पठाउने निणर्य गरेको थियो मन्त्रिपरिषद् वैठकले भदौ २७ मा सहसचिव प्रमुख प्रशासकीय अधिकृतमा रूपमा पठाउने निर्णय पनि गरेको थियो ।
सो निर्णयको विरुद्धमा पनि काफ्लेले सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन्।
सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव काफ्लेको रिट खारेजी पछि मन्त्रिपरिषदको निणर्यबाट सहसचिवको दरबन्दीमा भारतीलाई पठाउने निणर्य भएकोले वीरेन्द्रदेव भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा बाराको जीतपुसिमरा आउने संभावना बढि रहेको सामान्य प्रशासन मन्त्रालयका एक स्रोतले बताएको छ ।

