बारा : बारामा पाठेघर क्यान्सर रोग विरुद्धको एच.पि.भि खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बारामा सोमबार बसेको जिल्ला स्तरीय खोप सञ्चालन समितिको बैठकमा उक्त जानकारी दिईएको हो।
उक्त बैठकमा सहजीकरण गर्दै विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले पहिलो चरणमा अगामी २३ गते देखि २५ गते सम्म जिल्लाको आठ पालिकामा खोप सञ्चालन गरिने जानकारी दिए।
पहिलो चरणमा जितपुर सिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका,निजगढ नगरपालिका,कोल्हवी नगरपालिका,परवानीपुर गाउँपालिका,बिश्रामपुर गाउँपालिका,फेटा गाउँपालिका, प्रसौनी गाउँपालिकामा सञ्चालन गरिने बताए।
दोस्रो चरणमा अगामी फागुन १ गते देखि ४ गते सम्म जिल्लाको आठ पालिकामा खोप अभियान सञ्चालन गरिने बताए। उनले सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,महागढीमाई नगरपालिका,सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका,आदर्शकोतवाल गाउँपालिका,बारागढी गाउँपालिका,करैयामाई गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने बताए।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि दश सम्मका छात्राहरुलाई यो खोप लगाईने उनले जनाए। विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप लगाईने उनले जानकारी दिए। मधेश प्रदेशमा ४ लाख ७ हजार २९१ जना छात्राहरुलाई यो खोप लगाईने उनले बताए ।
बारा जिल्लामा ४५ हजार ५सय ३५ जना किशोरी तथा छात्राहरुलाई खोप लगाईने उनले बताए।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख साहले खोप अभियानलाई सफल बनाउन आग्रह गरे ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी छवीरमण भटृराई,सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका गणपति शन्तोष बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा,जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी आमोद चौधरी,जिल्ला जन स्वास्थ्य कार्यालय बाराका रामनरेश यादव,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख हेमराज खतिवडा,नेपाल रेडक्रस सोसाईटी बाराका शन्तोष नेपाल लगायतको सहभागिता रहेको थियो ।


