वडा कार्यालय,स्वास्थ्य चौकी र विद्यालय खोल्न बहुदरमाई मेयरको निर्देशन

राम मण्डल
472 पाठक संख्या

वीरगञ्ज : वडा कार्यालय लगायतको सेवा सुचारु गर्न पर्साको बहुदरमाई नगरपालिकाको मेयर सिँगासन साह तेलीले निर्देशन दिएका छन्।

उनले सोमबार एक सूचना जारी गर्दै बन्द गरिएका वडा कार्यालय,स्वास्थ्य चौकी,तथा विद्यालय लगायत बन्द रहेका कार्यालयहरुमा कामकाज गर्न गराउन निर्देशन दिएका छन्।

वडा कार्यालयको लिखित तथा मौखिक आदेशबाट शिक्षक तथा कर्मचारीको तलब र आवश्यक दैनिक कार्यालय संचालनको सामग्री अभाव जस्ता कारण देखाई बन्द गरिएको व्यहोरा नगरपालिकालाई विभिन्न माध्ययमबाट अवगत भएको सूचनामा जनाइएको छ ।

नगर प्रमुख तथा शिक्षक कर्मचारीसँग भएको सम्झौता अनुरुप तलब निकासा तथा दैनिक कार्यालय संचालनका आवश्यक सामग्रीहरु व्यवस्थापनको लागि नियमित पहल भइरहेको छ। चांडै समाधान हुने प्रति विश्वस्त रहन सबैमा मेयर तेलीले सूचनामार्फत अनुरोध गरेका छन्।

धैर्यताका साथ सर्वसाधारणको नियमित सेवा अवरुद्ध नहुने गरी कामकाज गर्न गराउन हुन समेत उनले अनुरोध गरेका छन्। नगरसभाको निर्णय प्रमाणित गरी खाता सञ्चालनको माग गर्दै अधिकांश वडा अध्यक्षहरुले वडा कार्यालय आईतबारदेखि बन्द गरेका थिए ।

नगरपालिकाले तीन महिना भन्दा पनि बढी ढिलो गरि चालु आव ०८१/८२ को बजेट ल्याएको भएपनि हालसम्म नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरुले तलब भत्ता पाउन सकेका छैनन ।

पालिकामा हुने विकास निर्माणका कार्य समेत ठप्प रहेका छन्। सोही कारण वडाध्यक्षहरुले वडा कार्यालयको सेवा बन्द गरेका छन्।त्यस्तै कर्मचारीहरुले बिगत चार महिना देखि तलब भत्ता नपाउदा उनीहरुले पनि कार्यालय बन्द गर्न बाध्य भएका छन्।

Leave a review

This will close in 0 seconds