अपाङ्ग सेवा संघ बाराको नयाँ नेतृत्वमा शोभा लामा

साझेदारी डेलि
43 पाठक संख्या

सिमरा । नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको ८ औँ अधिवेशन तथा २४ औँ साधारणसभा सिमरामा सम्पन्न भएको छ। अधिवेशनबाट शोभा लामा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरेको कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण क्रमशः सकारात्मक बन्दै गएको बताए। उनले राज्य र स्थानीय तहबाट शिक्षा, स्वास्थ्य, रोजगारी तथा आत्मनिर्भरता प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेका उल्लेख गरे।

संघका निवर्तमान अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन सहकार्य आवश्यक रहेको बताए। उनले संघले शिक्षा, सीप विकास र अधिकार सुनिश्चिततामा निरन्तर काम गर्दै आएको जानकारी दिए।

साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुनिल यादव, सचिवमा रमेश बिडारी, सहसचिवमा चन्दा कुमारी साह र कोषाध्यक्षमा शंकर प्रसाद दाहाल चयन भएका छन्। सदस्यहरूमा प्रमोद प्रसाद राय, गोदावरी कुमारी साह, उद्धव घिमिरे, रमेश लामिछाने लगायत रहेका छन्।

अधिवेशनका लागि जयप्रकाश रायको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ भने आवश्यक परे दुई सदस्य मनोनित गर्न सकिने व्यवस्था रहेको छ।

Leave a review

This will close in 0 seconds