सिमरा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा बाराको जीतपुर बजारमा नापतौल शिवीरको आयोजना गरिएको छ ।
नापतौल तथा गुणस्तर विभागको बीरगञ्ज कार्यालयबाट सो शिवीरमा कर्मचारीहरु खटेका छन्। कर्मचारीहरुले जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परीक्षण तथा प्रमाणपत्र नवीकरण कार्य गरिरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले जानकारी दिए।
मंगलवारदेखि तीन दिन सम्मका लागि जीतपुरसिमरा उद्योग वाणिज्य संघको कार्यालय जीतपुरमा शिवीर सञ्चालन गरिएको हो। बुधबार र विहिबार सिमरास्थितआन्तरिक राजश्व कार्यालय संगै रहेको उद्योग वाणिज्य संघको सेवाकेन्द्रमा शिवीर सञ्चालन भएको हो।
शुक्रबार जीतपुरसिमरा १५ डुमरवानास्थित वडा कार्यालय र शनिवार जीतपुरसिमरा २१ अमलेखगञ्जस्थित वडा कार्यालयमा नापतौल सामग्री जाँचकालागि घुम्ति शिवीर सञ्चालन हुनेछ ।
जीतपुर सिमराका व्यवसायीहरुलाई वीरगञ्जसम्म पुग्न झण्झटिलो हुने भएकाले समय तथा पैसा दुबैको बचत सहित सरल सेवा प्रदान गर्ने उद्देश्यले नापतौल कार्यालय वीरगञ्जसंग समन्वय गरी शिवीर सञ्चालन गरिएको जनाइएको छ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनशर्मा लामिछानेले जीतपुर,सिमरा,डुमरवाना र अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरुलाई शिवीरमा सहभागि भई नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गरे।
नापतौल सामग्रीको अनुगमनका क्रममा हुने कारवाहीबाट बच्न समेत नापतौलका सामग्री अद्यावधिक गर्न आवश्यक रहेको शर्माले जनाए। शिवीरको फाइदा उठाउन उनले आग्रह गरे ।
नापतौल सामग्रीको जाँच शिवीरमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीको प्रमाणपत्र समेत संगै नविकरण गर्ने सुविधा उपलब्ध गराएको संघका कोषाध्यक्ष रामबाबु कलवारले बताए।


