चक्रवात ‘अर्णव’को जोखिम : पाकेको धान भित्र्याउन बाराका किसानलाई आग्रह

साझेदारी डेलि
125 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: video;hw-remosaic: false;touch: (0.51944447, 0.59296876);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

कलैया । सम्भावित चक्रवात ‘अर्णव’का कारण भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले कात्तिक ११ गतेभित्र पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन तथा विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार कात्तिक १२ देखि १४ गतेसम्म मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसबाट जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी, कटान र डुबान हुनुका साथै चुरे क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध हुन सक्ने जोखिम औँल्याइएको छ।

प्रशासनले नदी किनार, खोल्सा र चुरे फेदीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका बेला खोला तर्ने, माछा मार्ने, दाउरा संकलन गर्ने तथा नदीजन्य गतिविधिमा संलग्न नहुन पनि अनुरोध गरिएको छ। जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नुपरे सडकको अवस्था बुझेर मात्र अघि बढ्न भनिएको छ।

सम्भावित विपद् व्यवस्थापनका लागि स्थानीय तहले उद्धार टोली, स्वयंसेवक र राहत सामग्री तयारी अवस्थामा राख्नुपर्नेछ। जोखिममा रहेका बस्तीका परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई आवश्यक उपकरणसहित सतर्क रहन प्रशासनले निर्देशन दिएको छ। पहिरो पन्छाउन सडक डिभिजन र स्थानीय तहलाई रणनीतिक स्थानमा भारी उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ। खाद्यान्न, पिउने पानी, औषधि, टर्च र महत्त्वपूर्ण कागजात सुरक्षित राख्न तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाको सट्टा आधिकारिक निकायका जानकारीमा विश्वास गर्न पनि अनुरोध गरिएको छ।

आपत्कालीन अवस्थामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाराको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा बाढीसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

Leave a review